शुक्रबार, १६ चैत २०८०

जेलबाट छुटेपछि महराले जारी गरे यस्तो विज्ञप्ति

समयपोष्ट २०७६ फागुन ५ गते १९:३३

Advertisement

पूर्वसभामुख सांसद कृष्णबहादुर महराले जेलबाट छुटेपछि अदालतप्रति विशेष आभार प्रकट गरेका छन् ।

जेलबाट छुटेलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै महराले स्वाधिनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहने बताएका छन् ।

महराले विज्ञप्तिमा जेलबाट छुट्दाका दिनसम्म सहयोग गर्ने सबैप्रति धन्यवाद तथा आधार व्यक्त गरेका छन् ।

प्रेस विज्ञप्तिको पूर्णपाठ

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

अन्ततः ममाथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यसक्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनैतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु ।

यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु । एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधै थियो, छ र रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र रहिरहनेछ ।

कृष्ण बहादुर महरा प्रतिनिधिसभा सदस्य, दाङ– २
मिति २०७६ फागुन ५ गते

प्रतिक्रिया

सम्बन्धित सामाग्री