बिहीबार, १३ वैशाख २०८१

क्वारेन्टाइनमा नियम तोड्नेलाई महेन्द्रको पालाको कानुनअनुसार कारबाही

समयपोष्ट २०७६ फागुन २ गते ८:५९

Advertisement

हाल स्वास्थ्यसम्बन्धी १५ ऐन र ११ नियमावली छन् । तर, चीनको हुबेईबाट उद्धार गरेर ल्याइएकालाई क्वारेन्टाइनमा राख्दा सरकारको निर्देशन उल्लंघन भए ५६ वर्ष पुरानो ऐनअनुसार कारबाही हुने भएको छ । संक्रामक रोग रोकथामका सम्बन्धमा नयाँ ऐन नभएकाले राजा महेन्द्रको पालामा बनेको ‘संक्रामक रोग ऐन, २०२०’ आकर्षित हुने भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालका अनुसार क्वारेन्टाइनमा तोकिएको नियमको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । त्यस्तै, सरकारले खटाएका व्यक्तिलाई कसैले काममा बाधा पुर्‍याए ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

क्वारेन्टाइनमा सरकारको निर्देशनअनुसार असल नियतले खटिने कर्मचारीविरुद्ध कसैले नालिस वा अन्य कानुनी कारबाही गर्न नसकिने पनि ऐनमा व्यवस्था छ । सरकारको निर्देशन उल्लंघन गर्ने जो–कसैलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था छ ।

राजा महेन्द्रले ०२० मा ‘ज्वरो’ नियन्त्रण गर्न राष्ट्रिय पञ्चायतको सल्लाहमा यो ऐन बनाएका थिए । देशभर वा देशको कुनै भागमा संक्रामक रोग फैलिए वा फैलिने सम्भावना देखिए रोकथाम र निर्मूल गर्न ऐन जारी भएको थियो । संक्रामक रोगसम्बन्धी नयाँ ऐन–नियम नबनेका कारण ०२० मा बनेको ऐन नै लागू गर्नुपरेको डा. लालले बताए । आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री