शनिबार, ८ वैशाख २०८१

‘यही अवस्था रहिरह्यो भने अर्थतन्त्र नै अप्ठ्यारो अवस्थामा पुग्छ’

समयपोष्ट २०७५ माघ १७ गते ११:१५

Advertisement

बैङ्कको वित्तीय अवस्था कस्तो छ ?

बैङ्कको वित्तीय अवस्था अत्यन्त सबल रहेको छ । बैङ्कका हरेक सूचकाङ्कहरू सकारात्मक छन् । बैङ्क आन्तरिक रूपमा सुदृढ छ । कम्प्लायन्समा अब्बल रहेको छ, हाम्रो बैङ्क ।

आक्रामक रूपमा शाखा विस्तार गरिरहनुभएको छ, नयाँ शाखाहरूमा कत्तिको बिजनेस पाउनुभएको छ ?

शाखा सञ्जाल बढाउनु आजको आवश्यकता हो । नेटवर्क नबढाई व्यवसाय विस्तार गर्न गाह्रो छ, अब । मर्जरमा गएका बैङ्कहरूको शाखा सङ्ख्या धेरै नै भइसक्यो । उनीहरूसँग प्रतिस्पर्धा गर्न पनि शाखा सङ्ख्या बढाउन अत्यन्त जरुरी छ । शाखा खोल्नेबित्तिकै व्यवसाय बढिहाल्दैन । नयाँ शाखाहरूलाई ‘ब्रेक इभन’ मा ल्याउन कम्तीमा एक वर्ष त कुर्नै पर्छ । दुर्गम ठाउँहरूमा खोलेका शाखाहरूबाट निक्षेप राम्रो रूपमा सङ्कलन भएको छ । हामी सन्तुष्ट छौँ । शाखाहरूलाई कसरी व्यवस्थित तरिकाले सञ्चालन गर्ने भन्ने चुनौती छ आज पनि ।

नयाँ शाखाहरूलाई ‘ब्रेक इभन’ मा ल्याउन कम्तीमा एक वर्ष त कुर्नै पर्छ । दुर्गम ठाउँहरूमा खोलेका शाखाहरूबाट निक्षेप राम्रो रूपमा सङ्कलन भएको छ । हामी सन्तुष्ट छौँ ।

बैङ्कका सहायक कम्पनी र लगानीमा मुख्य क्षेत्रबारे बताइदिनुहोस् न ?

हामी पनि माछापुच्छ्रे  क्यापिटल लिमिटेड हाम्रो सहायक कम्पनीका रूपमा निकट भविष्यमै ल्याउँदैछौँ । हाम्रो मुख्य लगानी हाइड्रोपावर सेक्टरदेखि लिएर विभिन्न प्रकारका उद्योगहरूमा विविधीकरण छ । ट्रेडिङ व्यवसायदेखि लिएर कृषि, साना तथा मझौला व्यवसाय, पर्यटन आदि उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्नुपर्छ भन्ने कुरामा हामी सजग छौँ ।

हाम्रो मुख्य लगानी हाइड्रोपावर सेक्टरदेखि लिएर विभिन्न प्रकारका उद्योगहरूमा विविधीकरण छ ।

पुँजी वृद्धि र शाखा विस्तारसँगै लगानीयोग्य पुँजीको अभाव भएको छ, यसले कत्तिको असर पुर्याएको छ ?

लगानीयोग्य रकमको अभावले त धेरै असर गर्छ नै । बैङ्कको ‘कोर फङ्सन’ भनेकै निक्षेप परिचालन र कर्जा लगानी हो । बैङ्कहरू कर्जा लगानी गर्न नै नसक्ने अवस्थामा पुगेपछि समस्या त पर्ने नै भयो । यस्तो समस्याले बैङ्किङ क्षेत्रदेखि लिएर देशको समस्त आर्थिक अवस्थालाई नै नकारात्मक असर पुग्दछ । साँच्चै भन्नुपर्दा अर्थतन्त्र नै अत्यन्त अप्ठ्यारो अवस्थामा पुग्छ, कालान्तरमा यही अवस्था रहिरह्यो भने ।

यो अवस्था कहिलेसम्म रहला ? यसको दीर्घकालीन समाधान होला, सरकारले के गरिदिनुपर्छ ?

जबसम्म सरकारले आफ्नो वार्षिक बजेटअनुसार खर्चको सेडुयल मिलाउन सक्दैन, तबसम्म यो अवस्था रहन्छ । वर्षको अन्त्यतिर अत्यधिक खर्च गर्ने प्रवृत्तिमा सुधार नआएसम्म यो समस्याको हल हुँदैन । बैङ्कहरूले पनि संयमित भएर आफ्नो निक्षेपको वृद्धिसँगै कर्जाको वृद्धिमा ध्यान दिनुपर्छ । विदेशी लगानीलाई प्रोत्साहित गर्ने र विभिन्न सरकारी निकायबाट लिनुपर्ने स्वीकृतिलाई सहज र सरल तरिकाले समेट्ने हो भने लगानीको वातावरण बनी विदेशी लगानी आकर्षित हुन्छ र तरलता सहज हुन्छ ।

विदेशी लगानीलाई प्रोत्साहित गर्ने र विभिन्न सरकारी निकायबाट लिनुपर्ने स्वीकृतिलाई सहज र सरल तरिकाले समेट्ने हो भने लगानीको वातावरण बनी विदेशी लगानी आकर्षित हुन्छ र तरलता सहज हुन्छ ।

बैङ्कर सङ्घले फेरि भद्र सहमति गरेर व्याजदर नियन्त्रण गरेको छ, खुला बजार अर्थतन्त्रमा यो गर्नु उचित हो ?

खुला अर्थतन्त्रमा नियन्त्रण गर्नु उचितचाहिँ होइन तर समग्र आर्थिक अवस्थामै असर गर्ने अवस्था आयो भने जिम्मेवार संस्था भएर सहमति गरेर अघि बढ्नुको विकल्प छैन । खुला छोड्दा अराजकतातिर बढ्ने सङ्केत देखिएपछि मिलेर नै बैङ्कर सङ्घले फेरि सहमति गरेको हो जस्तो लाग्छ मलाई ।

बैङ्कका आगामी योजना के छन् ?

बैङ्कले अत्यन्त संयमताका साथ ‘सस्टेनेबल ग्रोथ’ गर्छ । डिजिटाइजेसनमा हामी फोकस गर्छौं । नयाँ–नयाँ लगानीका क्षेत्रहरू पहिल्याई कर्जा विस्तार गर्ने योजना छ । शाखा सञ्जाल पनि बढाउँछौँ ।

बैङ्कले अत्यन्त संयमताका साथ ‘सस्टेनेबल ग्रोथ’ गर्छ । डिजिटाइजेसनमा हामी फोकस गर्छौं । नयाँ–नयाँ लगानीका क्षेत्रहरू पहिल्याई कर्जा विस्तार गर्ने योजना छ । शाखा सञ्जाल पनि बढाउँछौँ । हामीले कम्प्लायन्सलाई अत्यन्त गम्भीरताका साथ लिँदै आएका छौँ । हाम्रो पञ्चवर्षीय कार्ययोजना अनुसार अघि बढ्छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री