आइतबार, १ असार २०८२

टिमुरको तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्यो

समयपोष्ट २०७५ माघ ३ गते १०:२९

सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ ।

Advertisement

उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर्ष भने तेलको माग बढेपछि झण्डै एक हजार १०० किलोसम्म तेल प्रशोधन गर्ने योजनामा रहेको उनले बताए । “गएको वर्षभन्दा यस वर्ष टिमुरको तेलको मूल्य पनि बढेको छ, यस वर्ष टिमुरको तेल प्रतिकिलो रु १७ हजारका दरले ४०० किलो काठमाडौँ पठाइसकेका छौँ”, सञ्चालक न्यौपानेले भने।

“उद्योग शुरु गर्दा आम्दानी गर्न सकिँदैन की भन्ने चिन्ता भए पनि विगत तीन वर्षमा राम्रो आम्दानी भएको र अहिले जिल्लाभित्रका टिमुर उत्पादन हुने क्षेत्रबाट टिमुर सङ्कलन गरी प्रशोधन गरिरहेका छौँ, उद्योगलाई धान्न सक्ने टिमुरको उत्पादन जिल्लामै हुने भएकाले पनि सजिलो भएको छ”, उनले भने । उक्त उद्योगमा सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकाबाट टिमुर आउने गरेको छ ।

उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यालयले आर्थिक सहयोगका साथै टिमुर ग्रेडिङ गर्ने उपकरण उपलब्ध गराएको, प्रधानमन्त्री कृषि कार्यक्रम परियोजनाले मसला उद्योगका लागि सहयोग गरेको र घरेलु व्यवसाय सञ्चालन गर्न सबैबाट सहयोग पाइएकाले काममा सहज भएको उनले बताए । एक क्विन्टल टिमुरबाट चार किलो तेल उत्पादन हुने न्यौपानेको भनाइ थियो ।

Advertisement

यहाँ उत्पादन गरिएको टिमुरको तेल काठमाडौँमा व्यापारीसम्म पठाउने गरिएको र व्यापारीले फ्रान्सलगायतका विभिन्न देशमा तेल पठाउने गरेको अर्का उद्योग सञ्चालक तथा सल्यान उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर चलाउनेले बताए । “प्रशोधित टिमुर र टिमुरको तेल हामीले चौधरी ग्रुपलाई बेच्ने गरेका छौँ, चौधरी ग्रुपले नै तेल विदेश पैठारी गर्ने र आफूले समेत उपयोग गर्ने गरेको छ”, अध्यक्ष चलाउनेले भने। सल्यानका वनगाड कुपिण्डे नगरपालिकाको ९ र १२ छत्रेश्वरी गाउँपालिकाको १, २ र ४ र बागचौर नगरपालिकाको ७, ८ र १२ वडामा व्यावसायिक रुपमा टिमुर उत्पादन भइरहेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री