ढोलाहिटी–लेले सडकखण्डमा मुआब्जा विवाद,“जनप्रतिनिधिले चाहेर पनि काम हुन सकेन”
सडक विस्तारको काम शुरु भएको दुई वर्ष नाँघ्दा पनि ढोलाहिटीदेखि लेले सरस्वती कुण्डसम्मको सडकको काम जम्मा २० प्रतिशतभन्दा बढी हुन सकेको छैन ।
सर्वाेच्च अदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेपछि काम अवरुद्ध हुँदा प्रगति कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । यो सडकको निर्माण अवधि तीन वर्ष रहेकामा दुई वर्ष सकिँदा पनि भौतिक प्रगति भने ज्यादै कम देखिएको हो ।
स्थानीयवासीले पहिले घरको मात्रै मुआब्जा माग्दै आएकामा अहिले जग्गाकोसमेत मुआब्जा मागेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । स्थानीयवासी एकजुट भएर मुआब्जा नपाउँदासम्म काम गर्न नदिने अडानमा छन् । नगरपालिकाले पहल गर्दा पनि स्थानीयवासी सडक विस्तारका लागि जग्गा छाड्न नमानेका हुन् । उनले भने , “जनप्रतिनिधिले चाहेर पनि सडक विस्तारको काम हुन सकिरहेको छैन ।”
यस सडकको दायाँबायाँ रहेका रुखका कारणले पनि लामो समयसम्म काम अवरुद्ध भएको आयोजनाले जनाएको छ । अहिले वन विभागबाट स्वीकृति लिएर रुख हटाइएको छ । पहिले स्थानीयवासीले घरको मात्रै मुआब्जा माग्ने गरेकामा अहिले जग्गाकोसमेत मुआब्जा माग गरिरहेका छन् । उनले भने, “सम्बन्धित निकायबाट यस सडकका लागि सहयोग नहुँदा नहुँदा ठेकेदारले काम अघि बढाउन पाएको छैन ।”
उपत्यकामा विस्तार हुन लागेका १२ सडकमध्ये यो सडक एक हो । करिव १० किलोमिटर लामो सो सडक २०७३ जेठ महिनादेखि निर्माण शुरु गरिएको थियो ।
प्रतिक्रिया