शुक्रबार, १६ चैत २०८०

‘अबको दश दिनभित्रै चुनावको मिति घोषणा हुन्छ’

समयपोष्ट २०७३ पुष २८ गते १०:४०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने खुलासा गरेका छन्। 
बिहीबार रिपोटर्सर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्रीका सल्लाहकार खनालले यस्तो बताएका हुन्। उनले भने,‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ।’ उनले सकेसम्म जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको स्पष्ट पारे। खनालले जेठसम्म स्थानीय तहको चुनाव भए मंसिरसम्म दुई वटा निकायको चुनाव एकचौटि गर्न सकिने समेत विश्वास दिलाए। 
उनले भने,‘सरकार संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छौं, सरकार अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छ, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ।’ उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूर्नसंरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए। 
खनालले संविधान कार्यान्वयन गर्ने सरकारको प्रमुख दायित्व रहेकोले त्यसको लागिपनि निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गर्ने कुरामा सरकार लागिपरिरहेको बताए। उनले भने,‘आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गरेर मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ, सरकार अहिले त्यतातिर गम्भिर भएर लागिपरिरहेको छ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले सरकारले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। महासेठले भने,‘सरकार कहाँ छ ? नेपालमा हो कि बाहिर छ ?, प्रचण्डजी सही अर्थमा हाम्रो प्रधानमन्त्री हो कि वा कसैबाट निर्देशित हो ?’
उनले मधेशी मोर्चालाईपनि विश्वासमा लिनुपर्ने कुरामा कुनै दुई मत नरहेको उल्लेख गर्दै भने,‘मोर्चालाई विश्वासमा लिनुपर्छ, तर मोर्चा आँफैमा एक रुपता वा अडानमा एक देखिँदैन्, दिनुहँ कुराहरु चेन्ज भैरहेका छन्, उहाँहरुपनि निर्देशित हुनुहुन्छ, यो अपवित्र गठबन्धनको सरकार हो।’
उनले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको जिकिर गर्दै भने,‘प्रधानमन्त्री चुनाव गराउने पक्षमा हुनुहुन्न, देउवाजीलाई हतार छ, तर प्रचण्डजी सत्ता लम्ब्याउने पक्षमा हुनुहुन्छ।’ नेता महासेठले सरकारले आगामी जेठमा चुनाव गराउँछु भनेर बोलेका कुराहरु बाहिर आएपनि त्यसमा आफूहरुलाई विश्वास नलागेको बताए। उनले सरकारले संसदमा दर्ता गराएको संशोधन विद्येयक नै अवैधानिक भएकोले त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरे। यद्धपी उनले जतिसक्दो चाँडो चुनावको मिति घोषणा गर्नुपर्ने आफूहरुको माग रहेको बताए। 
उनले निर्वाचनलाई संशोधन विद्येयकसँग जोड्न नहुने समेत जिकिर गरे। नेता महासेठले भने,‘संशोधन विद्येयक फिर्ता गरौं, निर्वाचनको मिति घोषणा गरौं, र सहमतिमा अघि बढौं, यही नै अहिलेको उत्तम विकल्प हो।’ उनले सरकार संविधानको धारा २७४ नै खारेज गरेर भएपनि अघि बढ्ने मनशायमा रहेको कुरा बाहिर आएकोप्रति चिन्ता व्यक्त गर्दै भने,‘यस्तो गलत काम नगरियोस्, अब प्रचण्डजीलाई मेरो प्रधानमन्त्री नै अब अन्तिम हो भनेर लागेको छ भने त केही कुरै भएन, होईन भने तपाई जनयुद्ध गरेर क्रान्ति गरेर आएको नेता हो।’                                   
उनले संशोधन विद्येयक राष्ट्रको हितमा नभएकोले यसको विपक्षमा जनमत हुँदाहुँदैपनि वर्तमान सरकार जसरी हुन्छ प्रस्ताव पारित गर्ने खेलमा लागेको बताउँदै भने,‘सांसद किनेबेच गरेर विद्येयक पारित गर्न खोजेको हो भने त हाम्रो भन्नु केही छैन, तर एमाले अन्तिसम्म पनि लडाईको मैदानमा उभिन्छ, देश र जनताको पक्षमा उभिन्छ।’
सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद मिन विश्वकर्माले माघको पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा गर्ने बताए। उनले भने,‘माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति घोषणा गरियो भने निर्वाचन आयोगलेपनि जेठमा चुनाव गराउने कुरामा सहयोग गर्छ।’ उनले संविधान संशोधन भएपछि मात्रै सबै दल चुनावमा जाने वातावरण बन्ने विश्वास व्यक्त गरे। उनले चुनावमा सबै दलहरुलाई भाग लिने वातावरण बनाउनको लागि आफ्नो दलले पहल गरिरहेको उल्लेख गर्दै भने,‘अब यो दल वा त्यो दलले विरोध गर्ने भन्दापनि सबै दलहरु चुनावमा भाग लिनुपर्छ, त्यसको लागि काँग्रेसले पहल गरिरहेको छ, संशोधन विद्येयक पारित भएपछि सबै दलले चुनावमा भाग लिन्छन्।’
उनले जेठमा स्थानीय तहको निर्वाचन सम्पन्न भए कार्तिकदेखि मंसिरसम्म दुईवटा निर्वाचन गर्न सकिने विश्वास व्यक्त गरे। उनले भने,‘एमाले अहिले ठीक बाटोमा आएको छ, संविधान संशोधन विद्येयक पारित गर्नुपर्छ, विद्येयक पारित हुन्छ, शंका नगर्न म सबैलाई आग्रह गर्छु।’
उनले मधेशी मोर्चापनि संसदीय प्रक्रियामा आएकोले अब मोर्चालाईपनि सहमतिमै लिएर चुनावमा जानुपर्ने सुझाए।उनले भने,‘संशोधन विद्येयकलाईपनि निर्वाचनसँगसँगै अघि बढाउनुपर्छ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाए। उनले भने,‘चुनाव हुँदैन्, यो सरकारले हल्लामात्रै चलाएको हो।’ केसीले प्रश्न गरे,‘कहाँबाट हुन्छ चुनाव?’ उनले शुरुमा सरकारले चैत्र वा बैशाखभित्र चुनाव गराउने दाबी गरेको भएपनि त्यो सम्भावना टरेपछि अब जेठको रटान लगाउन थालेको आरोप लगाए। 
अध्यक्ष केसीले थपे,‘अब हेर्दै जानुहोस यीनले माघ लागेपछि सक्दैनौं भन्छन्।’ उनले संघीयता नेपालको लागि गलपासो बनेको कुरा आफूले पटक–पटक उठाउँदै आएको स्रमण गर्दै भने,‘संघीयता नेपालको लागि गलपासो हो, मैले त पहिलेदेखि नै भन्दै आएको छु नि, मैले गाँजा खाएर यसो भनेको थिईन नि।’
उनले १९ वर्षसम्म स्थानीय निकायको चुनाव हुन नसक्नुपनि संघीयताको भुतले गर्दा भएको आरोप लगाए। 
मधेशी मोर्चाका नेता अनिल झाले चुनावमा जाने कुरामा मोर्चाले विरोध नगर्ने स्पष्ट पारे। उनले भने,‘हामी चुनावको विरोधी होईनौं, संशोधन विद्येयक सदनमा टेबुल भएको छ, चुनाव चाहानेले त्यसलाई पारित गराउनुपर्छ।’
उनले निर्वाचनको प्रक्रियामा आफूहरुले विरोध नगर्ने जनाउँदै भने,‘चुनावको नोमिनेशनको नाम बाहिर आउँदासम्म पनि संशोधन विद्येयक पारित भएन भनेमात्रै हामी विरोध गर्दौं, होईन भने हामी विरोध गर्दैनौं।’ उनले देशलाई यत्तिकै रोकेर राख्न नहुने कुरामा आफूहरु सजग रहेको समेत विश्वास दिलाए। यद्धपी उनले संशोधन विद्येयक पारित नभए आफूहरु चुनावमा नजाने र त्यसलाई बहिष्कार गर्ने चेतावनी दिए।
संविधान नै कोल्याप्स गर्नेतिर कुनै पनि दल लाग्न नहुने उनको भनाई थियो। झाले भने,‘मधेशी मोर्चालेपनि सम्बोधन हुने खालका जाजय माँग राख्नुपर्छ।’
उनले एमालेले संशोधन विद्येयक टेबुल गर्दा एमालेले जसरी सहयोग गर्यो अब त्यसैगरि पारित गर्नपनि सहयोग गर्नुपर्ने बताए। 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री