मंगलबार, ११ वैशाख २०८१

शेयर धितो कर्जा घट्दै

पत्रपत्रिका २०७८ माघ ७ गते ७:४५

Advertisement

बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरोलो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक ऋणमा सीमा निर्धारण गरेको थियो । यसैगरी दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीहरूको मूल्य घटेको छ । यस कारण बैंकहरूले शेयर धितो कर्जा घटाउँदै लगेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०७८ साउनमा १ खर्ब ८ अर्ब ५६ करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेकोमा मङ्सिरसम्ममा करीब ८ अर्ब रुपैयाँले घटेर १ खर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।

एउटै ऋणीलाई धेरै कर्जा प्रवाहमा निरुत्साहित गरेका कारण सानो आकारको कर्जा लगानी भने वृद्धि भएको छ । बैंकहरूले साउनमा २५ लाखभन्दा कम ऋण लिनेहरूलाई ७ अर्ब ८६ करोड रुपैयाँ प्रवाह गरेकोमा मङ्सिरमा बढेर ८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

२०७७ मङ्सिरसम्मको तुलनामा २०७८ मङ्सिरसम्ममा समग्र शेयर धितो कर्जा ५ दशमलव ३ प्रतिशतले घट्दा १ करोडभन्दा बढीको कर्जा भने १३ दशमलव १ प्रतिशतले घटेको छ । तर, ५० लाखदेखि १ करोडसम्मको कर्जा १० दशमलव ६ प्रतिशत, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १० दशमलव १ प्रतिशत र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १८ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, उक्त मूल्यमा ७० प्रतिशतसम्म मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । विगतमा राष्ट्र बैंकले शेयर धितो कर्जालाई बजारको जोखिमका आधारमा यही अवधारणका आधारमा तलमाथि गर्दै आएको थियो ।

चालू आवको मौद्रिक नीतिबाट पहिलोपटक कर्जामा ऋणको सीमा नै तोकिएको हो । मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्न र साना लगानीकर्ताको पहुँच बढाउन भन्दै नीतिमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गर्ने घोषणा गरेको थियो ।

केन्द्रीय बैंकले भदौ पहिलो साता निर्देशन जारी गर्दै एकल ग्राहक कर्जा सीमा तोकेको थियो । निर्देशनमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितोमा कर्जा दिँदा प्रतिग्राहक एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोडमात्र दिन पाइने व्यवस्था छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री