शुक्रबार, १६ चैत २०८०

साताभर मौसम बदली र वर्षाको सम्भावना

पत्रपत्रिका २०७८ माघ ७ गते ७:३७

Advertisement

मुलुकभर बिहीबार बिहानैदेखि मौसममा फेरबदल भएको छ । यो क्रम अझै एक सातासम्म चल्नेसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा बिहीबार दिनभर वर्षा र हिमपात भयो । मौसम पूर्वानुमान महाशाखाले बिहीबार साप्ताहिक कृषि–मौसम पूर्वानुमान जारी गर्दै आगामी साताभर मौसम बदली हुने जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ मा साताभर सामान्यदेखि पूर्ण बदली रहने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । प्रदेश १ को तराई क्षेत्रमा अगामी बुधबार र बिहीबार हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, मधेस प्रदेशमा शुक्रबारदेखि मंगलबारसम्म आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बाग्मती प्रदेशमा पनि हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षा तथा तराईका जिल्लामा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साताभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, पहाडी जिल्लाहरूमा साताभर आंशिकदेखि समान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, तराईका क्षेत्रमा हुस्सुर कुहिरोले साताभरि ढाक्ने पूर्वानुमान गरिएको छ । महाशाखाले तराईको साताको सुरुवात र मध्यतिर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली भयो । पहाडी तथा तराई भू–भागका थोरै स्थानमा हल्का वर्षा भयो । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, शुक्रबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जनाएको छ । हरेक प्रदेशका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । यसैगरी, शनिबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने उनले बताए । ‘देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ,’ उनले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।’ आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री