शुक्रबार, १६ चैत २०८०

वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धन सहमत

समयपोष्ट २०७८ माघ ४ गते ११:५२

Advertisement

सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।

छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सञ्चारकर्मीलाई जानकारी दिए । यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । बिहीबार नै मन्त्रिपरिषदको नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअघि स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको छ । तर, दलहरूमा तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने बहस समेत भएकाले मिति तोक्न ढिलाइ हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री