बिहीबार, ६ वैशाख २०८१

कोरोना सङ्क्रमण तीव्र, स्वास्थ्य मापदण्ड पालनामा यस्तो लापर्बाही

समयपोष्ट २०७८ माघ ३ गते १९:५०

Advertisement

कोरोना भाइरसको सङ्क्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन । कोरोनाको सङ्क्रमण तीव्र भए पनि धार्मिकस्थलमा भीड नघट्दा जोखिम बढ्न थालेको छ । आइतबार पाँच हजारभन्दा कममा कोरोना सङ्क्रमण देखिएकामा आज भने छ हजार ७३४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रत्येक दिन भाइरस सङ्क्रमण हुनेको सङ्ख्या बढ्दै गएको छ । पशुपतिनाथ मन्दिरमा भीड बढ्न थालेपछि कसरी सुरक्षित रुपमा दर्शन गराउने भन्ने विषयमा छलफल भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । “संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्देशनासुर पशुपति क्षेत्रको व्यवस्थापन गर्ने तयारीमा छौँ, अहिले भीड बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र मन्दिर प्रवेश गराएका छौँ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । कार्यभार सम्हालेको १०० दिन पूरा गरेको अवसरमा विभिन्न मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सरकारले तोकेको २५ जनाभन्दा बढीको सहभागिता देखिएको छ । सार्वजनिक यातायातमा सिट क्षमता मात्र यात्रु राख्न पाइने नियम सरकारले सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन । यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले अनुगमन गरेका छैनन् । यात्रु रश्मिला प्रजापति जानैपर्ने समयमा सवारी नपाउँदा उभिएरै यात्रा गर्न बाध्य हुनुपरेको गुनासो गर्नुहुन्छ ।

बजार, पसललगायत स्थानमा पनि सरकारले तोकेकोभन्दा बढीको उपस्थिति छ तर कुनै पनि निकायले अनुगमन नगर्दा समस्या बल्झन सक्ने देखिएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउनुहुन्छ । बेलैमा उचित कदम नचाले अवस्था पहिलेको भन्दा भयावह हुनसक्ने भएकाले सरोकार भएका सरकारी निकायले अनुगमन गरेर मापदण्ड पालना गराउनुपर्ने उहाँको माग छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री