शुक्रबार, १६ चैत २०८०

भारतीय राजदूतावासद्धारा विश्व हिन्दी दिवसको आयोजना

समयपोष्ट २०७८ पुष २६ गते २०:२६

Advertisement

भारतीय राजदूतावास, काठमाडौंले आज राजधानीमा विश्व हिन्दी दिवसको आयोजना गर्यो ।

उक्त कार्यक्रममा दूतावासका प्रेस, सूचना एवम् संस्कृति प्रभागका प्रमुख नवीन कुमारले कार्यक्रमको अध्यक्षता गरेका थिए । सो अवसरमा कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए ।

कार्यक्रममा भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको सन्देश तथा शुभकामना भिडियोमार्फत प्रस्तुत गरियो ।

कार्यक्रममा नेपालका वरिष्ठ हिन्दी साहित्यकार राम दयाल राकेश कार्यक्रमको मुख्य अतिथिको रुपमा उपस्थित थिए भने नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा. डा. उषा ठाकुर विशिष्ट अतिथि थिईन् । सो अवसरमा हास्य कवि सम्मेलनको आयोजना समेत गरियो ।

सो सम्मेलनमा भारतबाट आएका तीन प्रख्यात कवि सुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरेका थिए ।

सो कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरे जसका लागि उनीहरुलाई पुरस्कृत गरिएको थियो । हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरु’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार करुणा झाको कविता संग्रहको विमोचन मुख्य अतिथिले गरे ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले सुमधुर समूह गीत प्रस्तुत गरे । आफ्नो मन्तव्यका क्रममा साहित्यकार राकेशले भारत र नेपालको मैत्री सम्बन्धमा हिन्दी भाषाको सदियौंदेखि अहम् भूमिका रहेको बताए ।

सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएपश्चात प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकहरुमा अवस्थित भारतीय राजदूतावास एवम् उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री