बिहीबार, १५ चैत २०८०

कुकुरका लागि बन्ध्याकरण शिविर

समयपोष्ट २०७७ माघ १३ गते १९:३४

Advertisement

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरमा निःशुल्क बन्ध्याकरण रोग अन्वेषण तथा रेविजविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिएको हो । कर्णालीमा प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरलाई पहिलोपटक बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

सामुदायिक कुकुरका कारण राजमार्ग तथा अन्य सडकमा दुर्घटना बढ्ने, रेविज रोग फैलिन सक्ने भएकाले बन्ध्याकरणसहित रेविज रोगको खोप पनि लगाइने भएको छ । कुकुरका कारण विभिन्न समस्या हुने भएकाले कुकुरको सङ्ख्या घटाउन शिविर सञ्चालन गरिएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा कृष्णराज पाण्डेले बताउनुभयो । कुकुरको जनसङ्ख्या बढ्न नदिन तथा उचित व्यवस्थापनका लागि बन्ध्याकरण गर्न लागिएको प्रमुख उहाँको भनाइ छ ।

डा पाण्डेका अनुसार कर्णालीमा पहिलोपटक कुकुरलाई बन्ध्याकरण गर्न लागिएको हो । पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाभित्रका सामुदायिक कुकुरलाई खोप सञ्चालन गरिएको छ । शिविरका लागि आठ पशु चिकित्सक र प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले जानकारी दिनुभयो । शिविरमा ३०० बढी कुकुरलाई सेवा प्रवाह गरिने निर्देशक गिरीले बताउनुभयो । सोमबार तथा मङ्गलबार बिहानसम्म करीब १५० वटा कुकुरको बन्ध्याकरण गरिएको थियो ।

बजारमा रहेका सामुदायिक कुकुरलाई भेटनरी एम्बुलेन्समार्फत निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको गिरीले जानकारी दिनुभयो । घरपालुका कुकुर सम्बन्धित घरधनी आफैँले लिएर शिविर स्थलमा आए पनि निःशुल्क बन्ध्याकरण गरिने उहाँको भनाइ छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौँ, पशुपक्षी रोग अन्वेशण प्रयोगशाला, वीरेन्द्रनगर नगरपालिका र पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । निःशुल्क बन्ध्याकरण शिविर भोलि बुधबारसम्म सञ्चालन हुने निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री