बिहीबार, १३ वैशाख २०८१

प्रहरीबाट अवकाश लिएपछि १ करोडबढी लागतमा होटल व्यवसाय शुरु

समयपोष्ट २०७७ माघ ६ गते १०:००

Advertisement

नेपाल प्रहरीको २२ वर्षे सेवाअवधि पूरा गरेकी कल्पना पौडेल खड्काले चितवनमा होटल व्यवसाय शुरु गर्नुभएको छ । प्रहरी सेवामा रहँदा विभिन्न जिल्लामा अपराध अनुसन्धानमा बढी समय बिताउनुभएका उहाँले भरतपुरका चौबीसकोठीमा क्यूमिन रेष्ट्रो एण्ड थाली किचन सञ्चालनमा ल्याउनुभएको हो ।

भरतपुर महानगरपालिका–३ बेलचोक निवासी उहाँले प्रहरी नायब निरीक्षक पदबाट गत वर्ष स्वेच्छिक अवकाश लिनुभएको थियो । अनिवार्य अवकाशका लागि आठ वर्ष बाँकी रहेको भए पनि ऊर्जाशील समयमा व्यवसाय गर्नकै लागि सेवा निवृत्त भएको उहाँले बताउनुभयो । उहाँले रु एक करोडभन्दा बढी ऋण धन जुटाएर आकर्षक होटल सञ्चालनमा ल्याउनुभएको छ ।

तीस अट्ने सभाकक्षसहित एकै पटकमा १०० भन्दा बढी बसेर खाना खान मिल्ने गरी होटल सञ्चालनमा ल्याइएको छ । होटलमा मुख्यरूपमा थकाली खानासँगै रेष्टुरेण्टमा पाइने सबै प्रकारका खाना र खाजा पाइन्छन् । उहाँले भन्नुभयो, “मेरोमा सेवाग्राहीको चाहनाअनुसार अन्यत्र पाइने खाजाका सबै परिकार बन्दछन् । तैपनि थकाली खाना हाम्रो मुख्य परिकार हो ।” स्थानीय जातको कुखुरा, खसी, हाँसको मासुसहितको खाना धेरैले मन पराएको उहाँको भनाइ छ । होटलमा मःमः, चाउमिन, ललिपप, चिकेनचिल्लीलगायतका रेष्टुरेन्टका परिकार पाइन्छन् ।

उहाँले थप्नुभयो, “भरतपुर क्षेत्रमा राम्रो खाना कहाँ पाइन्छ भन्नेहरुका लागि सेवा दिनैका लागि मैले होटल खुलेकी हुँ ।” विदेशमा रहनुभएका श्रीमान् श्रीराम पौडेललाई पनि यही व्यवसायमा सँगै काम गर्न बोलाएको उहाँले जानकारी दिनुभयो । तीन सन्तानकी आमा उहाँले घरको जिम्मेवारीसँगै व्यवसाय गर्नुभएको हो । उहाँले भन्नुभयो, “घरपरिवारकै सहयोगको कारण व्यवसायमा लागेकी हुँ ।”

गत वैशाखबाट शुरु गरिएको होटलमा हाल दैनिक १०० भन्दा बढीले सेवा लिने गरेको उहाँको भनाइ छ । सानो ठाउँमा राम्रो व्यवस्थापनका साथ आकर्षक सजावट गरेर होटल बनाइएको छ । पूर्वपश्चिम राजमार्गमा जोडिएको उक्त होटल भरतपुर विमानस्थलसँगै रहेको छ । होटल अगाडि पार्किङको सुविधासमेत भएकाले ग्राहकको रोजाइ बन्न सकेको उहाँको भनाइ छ ।

अपराध नियन्त्रणसँगै महिला अधिकारका क्षेत्रमा काम गर्ने भएकाले उहाँको होटलमा जिल्लाका महिला अधिकारकर्मीको पनि राम्रो उपस्थिति हुने गरेको छ । लामो समय जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहनुभएका पौडेलको राजनीतिक, सामाजिक र व्यवसायिक व्यक्तिको सम्पर्क राम्रो रहेकाले पनि होटल व्यवसायमा सहयोग पुगेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मेरो प्रहरी सेवा थियो भने अहिले म सेवामूलक व्यवसायमा लागेको छु ।” प्रहरी सेवामा हुँदाको सम्पर्कले पनि अहिले व्यवसायमा सहज भएको उहाँको अनुभव छ ।

उहाँले प्रहरीमा हुँदा चितवनसहित धनुषा, रुपन्देही, काठमाडौँलगायतका जिल्लामा रहेर काम गर्नुभएको थियो । उहाँको सम्पर्क र चिनजानकै कारण शनिबार राष्ट्रियसभाका सदस्यदेखि भरतपुर महानगरपालिकाका उपप्रमुखसम्मका महिला जनप्रतिनिधिले संयुक्तरूपमा होटलको उद्घाटन गर्नुभएको थियो । सो उद्घाटनमा सबै दलका महिलाको सहभागिता थियो । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावल, प्रदेशसभा सदस्य, कञ्चन खनाल, पार्वती सिलवाल, रिना गुरुङ र भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्तरूपमा होटलको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री