बुधबार, १२ वैशाख २०८१

‘आज काम हुन्न, भोलि आउनू’

समयपोष्ट २०७७ माघ ५ गते ७:४५

Advertisement

गोरखा:
दृश्य १
सेवाग्राही : सर मेरो बहिनीको नागरिकता बनाउनु थियो। फारम लिनुस् न।
कर्मचारी : आजको कोटा सिद्धियो। अब भोलि १० बजे आउनू।
सेवाग्राही : अहिले भर्खर त १ बजेको छ। ४ बजेसम्म त काम भइहाल्छ नि !
कर्मचारी : यहाँ धेरै जनाको काम गर्नु छ। तपार्इंसँग धेरै बोल्ने फुर्सद छैन। भोलि १० बजे आउनुस्।

दृश्य २
सेवाग्राही : सर, पासपोर्ट फारम भरेको ४५ दिन भयो। मेरो पासपोर्ट आयो होला ?
कर्मचारी : घडी हेर त। आज काम हुँदैन। भोलि बिहान १० बजे आऊ है !
सेवाग्राही : किन नहुने सर ? भर्खर त साढे १ बजेको छ। तपाईंको फाँटमा अरू भीड पनि छैन। म एक्लै हो सेवाग्राही। हेरिदिनू न !
सरकारी कार्यालयको काम त ४ बजेसम्म हुन्छ नि हैन र ?
कर्मचारी : तिमीले पासपोर्ट लिन पहिले राष्ट्रिय परिचयपत्रको फारम भर्नुपर्छ। राष्ट्रिय परिचयपत्रको फारम एक दिनमा जम्मा ३० जनाको मात्र भरिन्छ। ३० जनाको कोटा पुगिसक्यो। अब भोलि बिहानै १० बजे आऊ।
सेवाग्राही : बक्राङदेखि आएको हो। आज पासपोर्ट पाइयो भने भोलि काठमाडौं जाने भनेको। बर्बादै भयो नि !

कर्मचारीले नसुनेपछि सहिदलखन गाउँपालिका १ बक्राङबाट आएका कुमार रोका गह्रुंगो पाइला सार्दै बाहिरिए।

दृश्य ३
पालुङ्टार नगरपालिका ६ की चन्दन बराकोटी र आकृति बराकोटी साढे १२ बजे नै नागरिकता फाँटमा फारम पेस गर्न पुगे। तर, उनीहरू रित्तो हात फर्कनुपर्‍यो। एक घण्टा लामो लाइन पार गरेर बल्लतल्ल झ्यालमा पुगे पनि कर्मचारीले ‘आज हुँदैन, भोलि आउनू’ भनेपछि अचम्म लाग्यो।

आँगनमा ओर्लेर आश्चर्य प्रकट गरे, ‘सरकारी कार्यालयको काम त ४ बजेसम्म हुनुपर्ने होइन र ?’

उनीहरू गुनासो गर्दै थिए, ‘आज क्याम्पसको पढाइ छाडेर नागरिकता बनाउन आएको, अब अर्को दिन पनि पढाइ छुट्ने भयो।’

दृश्य ४
भीमसेनथापा गाउँपालिका–६ अश्राङकी बिनाकुमारी खड्का नागरिकता बनाउन दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय आइपुगिन्। काखे बालक च्यापेर नागरिकता फाँटअगाडि उनी एक घण्टा लाइनमा उभिइन्। बल्लतल्ल झ्यालमा पुग्दा कर्मचारीले ‘आजको कोटा सकियो, जानुस् अर्को दिन आउनू’ भनेपछि उनी झसंग भइन्।

नागरिकता बनाएर काठमाडौं जान हिँडेका उनीहरू सदरमुकामको होटलतिर जानुपर्‍यो।

पालुङटार नगरपालिका–७ च्याङ्लीका कुलबहादुर आलेले पनि आइतबार नागरिकता पाएनन्। उनी बिहान १० बजे नै जिल्ला प्रशासन पुगेका थिए। तर, आफूभन्दा अघि ७० जनाले फारम बुझाएकाले उनको पालो कट्यो।

‘बिहानै ट्याक्सी रिजर्भ गरेर आउन मात्रै भयो’, उनले भने, ‘४ बजेसम्म त सरकारी कार्यालय खुल्नुपर्ने हो। तर खै अझै तीन घण्टा बाँकी छ तर यहाँ समय सकियो भन्छ।’

यी दृश्य हुन्, जिल्ला प्रशासन कार्यालय गोरखाको। जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका थुप्रै सेवाग्राही मध्याह्न साढे १२ बजेबाटै रित्तो हात फर्कने गरेका छन्। कार्यालयले एक दिनमा ७० जनाभन्दा धेरैको नागरिकता नबनाउने र ३० जनाभन्दा धेरैको राष्ट्रिय परिचयपत्र फारम नभर्ने कोटा तोकेको छ। यसअघि अबेरसम्म फारम लिने गरे पनि केही दिनयता आफूखुसी नियम लगाइएको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री