मंगलबार, ४ वैशाख २०८१

मानव अंग प्रत्यारोपण केन्द्रको अर्को सफलता : डाक्टर पुकारको नेतृत्वमा पाँचौ पटक कलेजो प्रत्यारोपण

समयपोष्ट २०७६ माघ ११ गते १६:५८

Advertisement

मानव अंग प्रत्यारोपण केन्द्र (शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) भक्तपुरमा पाँचौं पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक समेत रहेका मानव अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा रहेको नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले सर्लाहीका ६२ बर्षिय योगेन्द्र महतोको सफल कलेजो प्रत्यारोपण गरेको हो ।

पुष २८ गते भएको सफल कलेजो प्रत्यारोयणमा भारतको नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरका कलेजो विभाग प्रमुख डा. सुभाष गुप्ताको टोलीले सघाएको थियो । योगेन्द्रलाई उनका ३५ बर्षिय छोरा पंकज महतोले कलेजो दान दिएका थिए ।

विश्वमै  जटिल मानिएको कलेजो प्रत्यारोपण  टोलीमा नेपालबाट डा. श्रेष्ठका अलावा डा. आरती राई, डा. निरज जोशी, डा. सञ्जय यादव, डा. जयन्त कुमार शाह, डा. निभा श्रेष्ठ, डा. अनिषा तिवारी, डा. सपना वर्मा, डा. रोषन घिमिरे, डा. कर्ण राजवंशी लगायत २५ जनाको टोली संलग्न थियो भने भारतबाट डा. गुप्ता सहित पाँच जनाको टोली संलग्न थियो ।

विसं २०६९ मा स्थापना भएको केन्द्रले नेपालमा पहिलो पटक २०७३ मंसिर २२ मा कलेजो प्रत्यारोपण गरेको थियो । त्यतिबेला केन्द्रलाई प्रत्यारोपणमा सघाउन दक्षिण कोरीयाली चिकित्सक टोली आएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले महिनामा कम्तिमा पनि एउटा कलेजो प्रत्यारोपण गर्ने गरि तयारी भइरहेको बताए ।

नेपालमा मिर्गौला प्रत्यारोपण स्वदेशकै चिकित्सकहरुले गर्दै आइरहेको भए पनि कलेजो प्रत्यारोपणमा भने विदेशी चिकित्सकको सहयोग लिदै आएका छन् । केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण समेत गरिसकेको जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले महिनामा कम्तिमा पनि एउटा कलेजो प्रत्यारोपण गर्ने गरि तयारी भइरहेको बताए । केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म ६ सय ८० जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपण गरिएकामध्ये ९९ प्रतिसत सफल रहेको केन्द्रको दावी छ ।

नेपालमा हरेक वर्ष करिव एक हजार जनाको कलेजो फेल हुने गरेको विज्ञहरु बताउछन । केन्द्र बाहेक नेपालमा त्रिबि शिक्षण अस्पताल, महाराजगन्जले कलेजो प्रत्यारोपण गर्ने गरेको छ । त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ३ व्यक्तिमा कलेजो प्रत्यारोपण गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री