शनिबार, ८ वैशाख २०८१

पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : केन्द्रीय सदस्य कोइराला

समयपोष्ट २०७६ माघ ११ गते १४:४८

Advertisement

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राख्नुभयो ।

नेत्री कोइरालाले मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गर्दै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभयो ।

पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उहाँले नेताहरुले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिनुभयो । पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका हामी तीनजना एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राख्नुभयो ।

नेत्री कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि छ भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताउनुभयो ।

काँग्रेस रहे हामी सबै रहने मानसिकता बनाउन नेतृत्वलाई सुझाव दिँदै उहाँले बहुचर्चित एमसिसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिनुभयो । यो परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसद्बाट स्वीकृत गराउनुपर्ने बताउँदै उहाँले परियोजनामा केही बुँदामा त्रुटि छ भने यसलाई सच्याउनुपर्ने उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री