शुक्रबार, ७ वैशाख २०८१

३० जना नर्सिङ छात्राले दिए सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी (प्रेस विज्ञप्तिसहित)

समयपोष्ट २०७६ पुष २२ गते १७:१६

Advertisement

अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् । हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने आत्मदाह गर्न वाध्य हुनेछौं, पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन् । र्दुगम गाउँबाट नर्स बन्ने सपना बोकेर आएका ३० जना ठिमीस्थित चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजमा भर्ना भएकामा अदालतको आदेशले खारेजीमा परेपछि परीक्षा दिनबाट वञ्चित भएका थिए । उनीहरुले सीटीइभीटी देखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन खेर गएको थियो । पत्रकार सम्मेलनमा छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरुले पाउन नहुने बताइन् । सरकारले आफूहरुलाई न्याय नदिए कडा कदम चाल्न वाध्य हुने उनको भनाई थियो ।

पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाही सिटिईभिटी र कलेज विचको विवादको कारण विद्यार्थीहरुले समस्या भोग्नु परेको जानकारी दिइन् । उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जादाँ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्वेवारीपूर्ण जवाफ दिएको खुलाइन् । उनले भनिन्, हामीलाई उल्टै गल्ती गरेको भनियो । राज्यको जिम्मेवार अधिकारीले हामीलाई थप पीडित बनाउनुभयो ।
२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरुको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन् । २२ साउनमा सिटिइभिटीलाई अदालतले स्टे अर्डर दिएपनि २०७६ सालमा कलेज खारेज भएको बताइन् । नर्सिङका छात्राहरुले दिन लागेको परिक्षा सिटिईभिटीले रोकेको खुलाइन् । सिटिभिटीसंग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि समस्या भने जस्ताको तेस्तै रहेको प्रेमिका शाहीले बताइन् ।
शाहीले आफहरुले हतारमा कलेजबाट सबै पैसा फिर्ता लिएपनि बितेको समय र अध्ययनमा खर्चिएको परिश्रम नफर्कने बताइन् । उनले भनिन्, अब हामी अनसन, धर्ना हुँदै आत्मदाहको कदम चाल्न समेत वाध्य हुनेछौं । विद्यार्थीको हक हितमा सक्रिय संगठनहरुले पनि आफूहरुलाई सहयोग नगरेको गुनासो गरिन् । शाहीले विद्यार्थी संगठनहरुलाई गम्भीर ढंगले समस्याको समाधान गरिदिन आग्रह गरेकी छिन् ।

पत्रकार सम्मेलनमा परीक्षा दिन नपाएर पीडामा परेका ३० जना विद्यार्थी उपस्थित थिए । उनीहरुले आँसु बगाउँदै आफूहरुलाई न्याय दिनका लागि संघर्षमा साथ दिन सबैसँग आग्रह गरेका थिए ।

प्रेस विज्ञप्ति

पीडित विद्यार्थी संघर्ष समिति
खारेज भएको चक्रवर्ती नर्सिङ कलेज

आदरणीय, पत्रकारज्यूहरु,
हामी नर्स पढ्ने ठूलो सपना बोकेर अति विकट र्दुगम गाउँहरुबाट आएका हौं । विपन्न आर्थिक अवस्था र पीडछिएको क्षेत्रका निम्न वर्गका हामीलाई अभिभावकले दुःख ज्यालो गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पढाउनुभएको हो । गाउँघरमा पढेर गाउँकै सेवा गर्ने लक्ष्य बोकेर नर्स विषय पढ्न आयौं ।

हाम्रा लागि काठमाडौं सपनाको शहर थियो । नर्स बन्ने उद्देश्यर बोकेर तयारी कक्षामा गयौं । परिश्रमका साथ अध्ययन गरेर नर्सिङ कलेजमा अध्ययनका लागि छानियौं । जीवनमै ठूलो सफलता हासिल भएको महशुश भयो । हामीलाई सपना साकार होला जस्तो लाग्यो । सपनाको शहर काठमाडौंमा आइपुग्यौं । हामी सिटीइभीटी सानोठिमी भक्तपुर नजिकैको कलेज चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्समा अध्ययन गर्ने अवसर पायौं । उक्त कलेजबाट धेरै विद्यार्थी नर्स बनिसकेका थिए । हामी ढुक्क साथले भर्ना गर्न पुग्यौं । चर्कौ शुल्क तिरेरै भएपनि भर्ना हुँदा खुशीको सीमा थिएन ।

हामी विकट जिल्लाका गाउँहरुबाट आएका ३० जना एक आपसमा परिचित भयौं । दुःख ज्यालो गरेर अभिभावकले हामीलाई नर्स बनाउन पठाउनुभएको थियो । उहाँहरुको दुःख र मिहेनतको कमाई सम्झेर अध्ययनमा लाग्यौं । पसिनाको कमाई मीठो हुन्छ भन्ने सुनेका थियौं । हाम्रा मातापिता तथा अभिभावकले पसिनाको कमाई पठाइदिनुभयो । हामीले त्यही सम्झेर मिहेनतमा कुनै कमी नगरी अध्ययनमा एकाग्र भयौं ।

हामी पढ्दै गयौं । परीक्षा पनि आयो । तर, पहिलो वर्षको परीक्षाबाट वञ्चित भयौं । बुझ्दै जाँदा एक वर्ष अगाडि नै कलेज मापदण्ड नपुगेर खारेज भएको रहेछ । अदालतबाट स्टे अर्डर ल्याएर विद्यार्थी भर्ना गरेको रहेछ । त्यो सुन्दा छाँगाबाट खसेजस्तै भयौं । हामीलाई जीवनमै सबैभन्दा ठूलो पीडा अनुभूती भयो । कलेजले हामीलाई धोका दिएको रहेछ । सीटीइभीटी पुग्यौं, प्रशासन देखि जिम्मेवार निकायमा पुग्यौं । अदालतको फैसला कुर्न भनियो । हामी गाउँबाट आएका चेलीहरुले अदालत भनेको देखेका पनि थिएनौं । अदालती प्रक्रियाबाट थाहा हुने कुरै थिएन । जीवनमा कहिले नभोगिएको पीडा र धक्का कलिलो किशोरावस्थामा भोग्नुप¥यो । आखिर हामीले के गल्ती गरेका थियौं ? हाम्रो के अपराध थियो ? विकट गाउँबाट आएर काठमाडौं पढ्न आउनु हाम्रो अपराध थियो ? यति थियो भने हामीलाई कारबाही गरियोस् तर, अध्ययनको अधिकारबाट वञ्चित नपारियोस् । हामीले सुनेका छौं कि जेलमा बसेका कैदीबन्दीले पनि पढ्न लेख्न पाउँछन् । परिक्षा दिन पाउँछन् । तर, हामी कुनै अपराध नगरेका निर्दोष चेलीहरुको जीवन बर्बाद गर्न खोजियो । हाम्रो के दोष थियो ।

अहिले हामी अधिकारका लागि दिनरात जिम्मेवार निकायहरुमा कुदिरहेका छौं । हाम्रो कुनै सुनुवाई भएको छैन । एक वर्ष त्यसै बित्यो । दोस्रो वर्षको परीक्षा आउँदैछ । त्यसबाट पनि हामीलाई वञ्चित पारिंदैछ । अब हामी कहाँ जाने ? के गर्ने ? नेपाल सरकारले यसको जवाफ दिनुपर्छ । के हामी जस्ता कलिला विद्यार्थीहरुको जीवन बर्बाद भएको हेरिरहने हो ? यति हो भने हामी कडा कदम चाल्न वाध्य हुनेछौं । हाम्रो ज्युँदै हत्या गर्न खोजिएको छ । हाम्रो आत्मामाथि ठेस पुग्ने काम राज्यको निकायबाट भएको छ । राज्यको दायित्व आफ्नो जनशक्तिको जर्गेना गर्दै युवाहरुको भविष्य उज्यालो बनाउने हो । तर, सरकार देखि हामीलाई भर्ना लिने कलेजले समेत जीवन अध्यारो बनाइदिएको छ । हामो आवाज नेपाल सरकार अन्र्तगतको शिक्षा मन्त्रालय, सीटीइभीटी देखि कसैले सुनेको छैन ।

हामी अन्यायविरुद्ध आवाज बोकेर तपाईंहरुको अगाडि प्रस्तुत भएका छौं । हामीलाई न्याय चाहिएको छ । न्यायको लागि आइरहँदा हाम्रो भविष्यमाथि खेलवाड गर्नेहरुमाथि कडा भन्दा कडा कारबाही होस् । साथै हामीलाई पनि न्याय दिइयोस् । हामीले दुई वर्ष अध्ययनमा समय खर्चिइसकेका छौं । समय र पैसा खर्च भइसकेको छ । पैसा त फिर्ता आयो तर समय आउँदैन । त्यसैले हामीलाई परीक्षा दिने वातावरण मिलाइयोस् । यसका लागि यहाँहरुले सम्बन्धित निकायसम्म हाम्रो आवाजलाई पु¥याइदिनुहोस् । हाम्रो आवाजको सुनुवाई हुँदैन भने हामी आन्दोलनमा जान वाध्य हुनेछौं ।

दुर्गम गाउँबाट नर्स पढ्न आएका हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने हामी सिंहदरबार अगाडि नै आत्मदाह गर्न वाध्य हुनेछौं । हामीसँग अब यसबाहेक कुनै विकल्प बाँकी छैन ।

संयोजक

अनुष्का चौलागाईं
२२ पौष २०७६
९८४९२३७७५०

प्रतिक्रिया

सम्बन्धित सामाग्री